कैलाली-३ मा एमालेबाट तीन जनाको नाम सिफारिस
आगामी फागुन २१ गते हुने निर्वाचनको लागि नेकपा एमाले कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट तीन जनाको नाम सिफारिस गरिएको छ ।
भजनी नगरपालिकामा बसेको क्षेत्र नम्बर ३ समन्वय कमिटी बैठकले पूर्वमन्त्री गौरीशङ्कर चौधरी, पूर्व मेयर ममता प्रसाद चौधरी र पूर्व उपमेयर छायादेवी देवकोटा लाई सिफारिस गर्ने निर्णय गरेको हो ।
अघिल्लो पटक प्रतिनिधि सभामा पराजित चौधरी हाल नेकपा एमाले केन्द्रीय सदस्य हुन् । दुई पटक सांसद भएर मन्त्री भएर चौधरी अहिले पनि प्रतिनिधि सभा निर्वाचनको दौडमा छन् ।
दोस्रो नम्बरमा सिफारिस भएका ममता प्रसाद चौधरी एमाले कैलालीका सचिव हुन् । अघिल्लो पटक घोडाघोडी नगरपालिकाको नगरप्रमुख रहेका उनी यस पटक नगरप्रमुखको निर्वाचनमा गठबन्धनको उम्मेदवारसँग पराजित भएका थिए । प्रतिनिधि सभा उम्मेदवारको लागि सिफारिस भएकी देवकोटा भजनी नगरपालिका पूर्व उपप्रमुख हुन् ।