देवघाटमा एक करोडको लागतमा सार्वजनिक पुस्तकालयको नयाँ भवन सम्पन्न
देवघाट गाउँपालिका–५ मा एक करोड रुपैयाँको लागतमा देवघाट सार्वजनिक पुस्तकालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ। पुरानो भवन जीर्ण बन्दै गएपछि पुस्तकहरूमा ठूलो क्षति पुगेकाले नयाँ भवन निर्माण गरिएको हो।
पुरानो भवनमा धमिराले पुस्तक नष्ट गर्न थालेपछि पछिल्ला तीन वर्षदेखि नेपाल रेडक्रस सोसाइटी, देवघाटको भवनमा अस्थायी रूपमा पुस्तकालय सञ्चालन हुँदै आएको थियो। बहुमूल्य तथा दुर्लभ पुस्तकको संरक्षण गर्न कठिनाइ भइरहेका बेला नयाँ भवन निर्माण सम्पन्न भएपछि राहत मिलेको पुस्तकालय भवन निर्माण समितिका संयोजक शिवराज पौडेलले जानकारी दिए।
उनका अनुसार भौतिक संरचना निर्माण सम्पन्न भए पनि फर्निचर व्यवस्थापन, पुस्तक वर्गीकरण तथा अन्य व्यवस्थापकीय कामहरू अझै बाँकी छन्।
देवघाट गाउँपालिका, गण्डकी प्रदेश सरकार, देवघाट–५ वडा कार्यालय, देवघाट क्षेत्र विकास समिति, विद्यापीठ, समुदायमा आधारित संघसंस्था, आश्रम, शिक्षाप्रेमी, उद्योगी, व्यवसायी तथा सर्वसाधारण दाताहरूको आर्थिक सहयोगमा पुस्तकालय भवन निर्माण गरिएको पौडेलले बताए।
हाल पुस्तकालयमा दश हजारभन्दा बढी पुस्तकहरू रहेका छन्। तीमध्ये करिब ३५ प्रतिशत धार्मिक तथा आध्यात्मिक पुस्तक रहेका छन् भने बाँकी साहित्य, बालशिक्षा, दर्शनशास्त्रलगायत विभिन्न विधाका पुस्तकहरू रहेका छन्।
नयाँ भवन सञ्चालनमा आएपछि देवघाट क्षेत्रका पाठक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूलाई अध्ययन तथा पठन संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।