ओली–बालेनको चर्चाबीच जेन–जीका रणनीतिकार अर्जुन शाही चुनावी मैदानमा
राष्ट्रिय राजनीतिमा सबैभन्दा बढी चासो तानिरहेको निर्वाचन क्षेत्र झापा–५ अब निर्णायक वैचारिक संघर्षको केन्द्र बन्ने भएको छ। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र स्वतन्त्र शक्ति प्रतीक बालेन शाह यसै क्षेत्रबाट चुनाव लड्ने चर्चाले देशको ध्यान खिचिरहेकै बेला जेन–जी आन्दोलनका मुख्य योजनाकार अर्जुन शाहीले पनि झापा–५ बाट प्रतिनिधि सभा निर्वाचनमा होमिने घोषणा गरेपछि राजनीतिक समीकरणमा नयाँ कम्पन पैदा भएको छ।
यो उम्मेदवारी केवल एउटा व्यक्तिको प्रवेश नभई—युवा चेतना, आन्दोलनको राजनीतिक रूपान्तरण र सहिदको बलिदानको न्यायको प्रश्नलाई प्रत्यक्ष रूपमा चुनावी मैदानमा उतारिएको कदमका रूपमा हेरिएको छ। जेन–जी आन्दोलनभित्रैका नेताहरूले झापा–५ लाई “पुरानो सत्ता संरचनाविरुद्ध पुस्तागत हस्तक्षेपको रणभूमि” का रूपमा परिभाषित गरेका छन्।
शाहीका राजनीतिक सल्लाहकार राहुल झाले तीक्ष्ण अभिव्यक्ति दिँदै भने “जेन–जी आन्दोलन सहिदको रगत र घाइतेको पीडाबाट जन्मिएको राष्ट्रिय जिम्मेवारी हो। जसले यो आन्दोलनको मर्मलाई अस्वीकार गर्छ, परिवर्तनलाई मजाक बनाउँछ, सहिदको बलिदानमाथि राजनीति गर्छ,त्यस्ता पात्रहरूलाई अब जनताले चुनावी मैदानबाटै बहिष्कार गर्नेछन्। झापा–५ त्यसको सामुहिक सुरुवाती मोर्चा बन्नेछ।”
उनले थपे “अबको चुनाव व्यक्ति विरुद्ध नभइ सिस्टम र धोका विरुद्धको लडाइ हो। सहिदहरुले छाडेको सपना सत्ताको खेल होइन, प्रणाली परिवर्तन हो। हामी त्यसलाई मतबाट स्थापित गर्ने अभियानमा छौँ।” झापा–५ लामो समयदेखि एमालेको प्रभाव क्षेत्र मानिँदै आएको छ। तर पछिल्ला वर्षहरूमा युवामाझ परम्परागत दलप्रति बढ्दो निराशा, वैकल्पिक राजनीतिक चेतना र आन्दोलनको प्रभावले यो क्षेत्र अब नयाँ शक्तिको परीक्षणस्थल बन्ने संकेत देखिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार अर्जुन शाहीको प्रवेशले झापा–५ लाई राष्ट्रिय राजनीतिक शक्ति सन्तुलनको निर्णायक प्रयोगशालामा रूपान्तरण गर्न सक्छ।
जेन–जी आन्दोलनले अब सडकबाट संसदसम्मको यात्रालाई औपचारिक राजनीतिक चुनौतीका रूपमा प्रस्तुत गरेको सन्देश दिँदै झापा–५ बाट सुरु हुने यो अभियानलाई “सहिदप्रति राजनीतिक न्यायको जनमत” का रूपमा अघि बढाइने बताइएको छ।
अब झापा–५ केवल एउटा निर्वाचन क्षेत्र होइन, यो देशको भविष्य, पुस्ताको हस्तक्षेप र परिवर्तनको वैचारिक जनमत परीक्षण हुने केन्द्र बन्ने देखिएको छ।