पूर्वअर्थमन्त्री वर्षमान पुन: “फागुन २१ मा निर्वाचन अनिवार्य”
काठमाडौँ, २७ पुस । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन्।
स्टार लाइट बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभामा शनिबार सम्बोधन गर्दै पुनले भने, “हजारौंको बलिदानीपछि प्राप्त राजनीतिक उपलब्धि संकटमा छ, यस्तो अवस्थामा निर्वाचनले मात्र मुलुकलाई निकास दिन सक्छ।”
उनले अन्तर्राष्ट्रिय चलखेल र मुलुकको अस्तित्वलाई खतरामा पार्ने प्रवृत्तिविरुद्ध राष्ट्रियता पक्षधरबीच एकता र सहकार्य आवश्यक रहेको औँल्याए।
पुनले मुलुकको राजनीति अस्थिर, तरल र अनिश्चिय रहेको उल्लेख गर्दै, “कहाँ पुगेर स्थिरता कायम हुन्छ भन्ने अनुमान गर्न कठिन अवस्था छ,” भने।
उनले अर्थतन्त्रमा पनि समस्या बढेको बताए। भूकम्प, कोभिड–१९ र भदौ २३–२४ को जेनजी आन्दोलनका कारण निजी क्षेत्रको मनोबल घटेको र सुस्त गतिमा रहेको उनको भनाइ थियो।
यससँगै पुनले निर्वाचनको माध्यमबाट मुलुकमा स्थिरता ल्याउन र राष्ट्रिय एकता कायम राख्नुपर्नेमा जोड दिएका छन्।