५ करोडको बिमादेखि 'सिंहदरबार गेट' सम्म: सल्यानमा पुस २५ देखि प्रादेशिक महोत्सवको भव्य तयारी
सल्यान । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा सल्यान उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म ‘दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सव' आयोजना हुने भएको छ। जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउन र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस महोत्सवको उद्घाटन कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले गर्ने कार्यक्रम तय भएको छ। महोत्सवलाई व्यवस्थित बनाउन आयोजकले यसपटक आधुनिक ‘एलइडी (LED) प्रविधिको प्रयोग गर्ने भएको छ, भने दर्शकको सुरक्षाका लागि ५ करोड रुपैयाँभन्दा बढीको सामूहिक बिमा समेत गरिएको छ।
यसपटकको महोत्सवको विशेष आकर्षणको रूपमा नेपालको प्रशासनिक केन्द्र सिंहदरबारको मूल गेटको झल्को दिने गरी मुख्य प्रवेशद्वार निर्माण गरिएको छ। महोत्सव अवलोकन गर्न आउने दर्शक तथा शुभेच्छुकहरूले गेटमा पुग्नेबित्तिकै सिंहदरबारकै अनुभव गर्न सक्ने गरी आकर्षक संरचना तयार पारिएको महोत्सव संयोजक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो। महोत्सव केवल मनोरञ्जनमा मात्र सीमित नरही जिल्लाको कृषि, वन, पशुपालन र पर्यटनको समग्र विकासमा केन्द्रित रहने र स्थानीय कृषकले उत्पादन गरेका सामग्रीको प्रदर्शनी तथा आधुनिक प्रविधिको जानकारी दिने मुख्य लक्ष्य राखिएको छ।
महोत्सवमा कुल १३० वटा स्टलहरू रहनेछन्, जसमा १०० वटा व्यावसायिक र ३० वटा कृषि तथा पशु व्यवसायसँग सम्बन्धित स्टलहरू हुनेछन्। स्थानीय कृषकहरूलाई प्रोत्साहन गर्न कृषि र पशुपालनसम्बन्धी स्टलहरू नि:शुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ। कृषि कार्यालय र उपभोक्ता संरक्षण संघको सहजीकरणमा उत्कृष्ट कृषक र उद्योगी व्यवसायीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको छ।
सांस्कृतिक पक्षलाई विशेष जोड दिँदै महोत्सवको फरक-फरक दिन सल्यानका १० वटै पालिकाका प्रमुखहरूलाई एक-एक दिन प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको छ। जुन पालिकाको प्रमुखको आतिथ्यता रहनेछ, सोही दिन उक्त पालिकाको मौलिक पहिचान झल्किने मयुर नाच र घाटु नाचलगायतका सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गरिनेछ। साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिसँगै पालिकास्तरीय लोकगीत तथा नृत्य प्रतियोगितालाई प्रतिसपर्धात्मक तरिकाले सञ्चालन गरिनेछ।
महोत्सव स्थलमा प्रवेश शुल्कको हकमा आयोजकले विभिन्न वर्गलाई सहुलियतको व्यवस्था गरेको छ। साधारण दर्शकका लागि १०० रुपैयाँ टिकट शुल्क तोकिएको भए पनि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि ५० प्रतिशत छुट गरी ५० रुपैयाँ मात्र शुल्क कायम गरिएको छ। त्यस्तै, विद्यार्थीहरूले आफ्नो परिचयपत्रका आधारमा ३० प्रतिशत छुट पाउनेछन्, जसअनुसार उनीहरूले ७० रुपैयाँमा महोत्सव अवलोकन गर्न पाउनेछन्। सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा महोत्सव स्थलको सुरक्षा संयन्त्र परिचालन गर्दै, अतिरिक्त सुरक्षाको लागि एक दर्जन सिआइडी समेत परिचालन गरिने र महोत्सव स्थलमा सिसी क्यामरा जडान गरिनेछ।
महोत्सवको अर्को निकै आकर्षक र लाभदायी पक्ष भनेको नेपाल टेलिकमको सिम कार्ड वितरण योजना रहेको छ। "१०० को टिकटमा दोहोरो उपहार: महोत्सवको अवलोकनसँगै सित्तैमा सिम कार्डको बहार!" भन्ने नाराका साथ दर्शकहरूले आफ्नो नागरिकताको फोटोकपी र एक प्रति फोटो बुझाएर १०० रुपैयाँ बराबरको नेपाल टेलिकमको सिम कार्ड नि:शुल्क प्राप्त गर्न सक्नेछन्। यसरी काटिएको टिकटको मूल्य बराबरकै सिम कार्ड हात पर्ने भएपछि दर्शकहरूलाई महोत्सव प्रवेश थप उत्साहजनक हुने आयोजकको विश्वास छ।
महोत्सव अवधिभर कुल ७७ लाख रुपैयाँको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ, जसमा टिकट बिक्री, स्टल, प्रायोजक र बाल उद्यान मुख्य स्रोत रहेका छन्। खर्चतर्फ कलाकार, स्टल निर्माण, साउण्ड सिस्टम र प्रचारप्रसारलगायतका शीर्षकमा ६४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। मनोरञ्जनका लागि बाल उद्यानमा पिङ, ढुङ्गा र रेललगायतका खेलहरू समावेश गरिएको यस महोत्सवले सल्यानको स्थानीय कला, संस्कृति र व्यापारलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।