रास्वपाले उम्मेदवार छनोट प्रक्रिया फेरि बदल्ने, प्राइमरी इलेक्सन नहुने संकेत
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी आमनिर्वाचनमा उम्मेदवारी छान्ने विधि र प्रक्रिया फेरि बदल्ने भएको छ । नयाँ मोडालिटीबारे भने नेताहरू स्पष्ट भइसकेका छैनन् ।
पार्टीले उम्मेदवारीका लागि दरखास्त आह्वान गरिसकेको भए पनि छनोटको मोडालिटीमा अन्योल देखिएको हो । रास्वपाको सचिवालय वैठकपछि मंगलबार राति एक सूचना सम्प्रेषण गर्दै ‘उम्मेदवारी दिने अन्तिम समय पुस २६ गते राति १२ बजेसम्म’ । सूचनामा प्राइमरी इलेक्सन वा प्रारम्भिक निर्वाचन नभनेर ‘आन्तरिक उम्मेदवार छनोट प्रक्रिया’ भनिएको छ ।
रास्वपाले यसअघि नै उपसभापति डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा उम्मेदवार सिफारिस उपसमिति गठन गरेको थियो । प्राइमरी इलेक्सनमा जाँदा उम्मेदवार सिफारिस आवश्यक पर्दैन । त्यसैले यसपटक प्राइमरी इलेक्सन नहुने बुझ्न सकिन्छ । स्रोतका अनुसार अहिलेसम्म रास्वपामा ५ दर्जनभन्दा बढी आकांक्षीहरुको निवेदन आइसकेको छ ।
रास्वपाले समानुपातिकमा प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट गरेको थियो । तर, यो विवादरहित रहन सकेन । नयाँ मोडालिटीमा प्राइमरी इलेक्सनलाई ५० प्रतिशत मात्रै मतभार दिएर बाँकी ५० प्रतिशत मतभारका लागि विभिन्न जटिल प्रावधानहरु बनाएको थियो । यही प्रक्रिया प्रत्यक्षतर्फ लागू हुन सक्ने अवस्था थिएन । त्यसमाथि अहिले बालेन र उज्यालो नेपाललाई पनि मर्ज गरिएको हुँदा सहमतिमा उम्मेदवार छान्नुपर्ने स्थिति रहेको नेताहरु बताउँछन् ।
रास्वपा सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार छान्ने पुरानो विधिमा केही परिमार्जन हुने बताए । एकताको नयाँ प्रकृयामा आएको उज्यालो नेपाल पार्टी, बालेनको टीम, नाउपाबाट आएकाहरूको समायोजन प्रकृयामा रहेकाले अहिले पुरानो विधिबाट उम्मेदवार छनौट गर्न सम्भव नभएको उनको भनाइ छ ।
‘त्यो विधि बनाउने पुरानो टीम मात्रै रास्वपामा छैन, नयाँ आएका साथीहरुलाई स्पेस दिनका लागि पनि परिमार्जन हुनुपर्छ । नयाँ साथीहरु व्यवस्थापन गर्नुपर्ने छ । तत्काल बसेर कस्तो विधि बनाउने भन्ने योजना बनाउँछौं,’ उनले भने ।
उज्यालो नेपालका एक नेता प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट हुन नसक्ने बताउँछन् ।
उनले भने, ‘उहाँहरूले समानुपातिक उम्मेदवार छान्न अपनाउनुभएको प्राइमरी इलेक्सनको विधि हामी आएपछि लागू हुँदैन । कम्तीमा हाम्रो हकमा त्यो सम्भव छैन । सहमतिमा नै उम्मेदवार छनोट हुनुपर्छ ।’
उज्यालो नेपालले प्रत्यक्षतर्फ ३० प्रतिशत सीटमा दाबी गरेको छ । रास्वपा नेताहरू भने त्यति दिन नसकिने बताउँछन् ।
एक पदाधिकारीले भने, ‘हामीले प्रतिशतमा भागबण्डा गर्नेभन्दा पनि चुनाव जित्न सक्ने योग्य उम्मेदवार खोज्ने हो । त्यो जुनसुकै समूहको व्यक्ति हुन सक्छ ।’
प्राइमरी इलेक्सन नहुने भएपछि अन्य पार्टीहरुजस्तै रास्वपामा पनि आकांक्षीहरुको दौडधुप सुरु भइसकेको छ । केही नेतालाई स्थानीय कमिटीले सिफारिस गर्न पनि थालेका छन् । हिजो सचिवालय सदस्य दिपक बोहोरालाई कञ्चनपुर २ को क्षेत्रीय कमिटीले सर्वसम्मत सिफारिस गर्यो । उनलाई पार्टीले टिकट दिने लगभग पक्कापक्की देखिन्छ ।
कतिपय आकांक्षीहरूले टिकट नपाउँदै आ-आफ्नो क्षेत्रमा प्रचारप्रसार सुरू गरिसकेका छन् । रास्वपा उपसभापति बनेका कुलमान घिसिङ काठमाडौं ३ मा उठ्ने लगभग निश्चित भइसकेको छ । उनले सो क्षेत्रमा पहिल्यैबाट तयारी गरिरहेका थिए ।
रास्वपा सभापति रवि लामिछानेले भने पार्टीले टिकट नदिँदै आफूलाई उम्मेदवार घोषणा नगर्न आकांक्षीहरूलाई आग्रह गरेका छन् ।