कांग्रेसको गण्डकी प्रदेशबाट राष्ट्रिय सभा उम्मेदवारमा जगत् तिमिल्सिना सिफारिस
नेपाली कांग्रेसले प्राडा जगत् तिमिल्सिनालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने भएको छ । तनहुँका तिमिल्सिनालाई खुला कोटाबाट उम्मेदवार बनाउने भएको हो । यद्यपि, उनको नाममा निर्णय हुन बाँकी रहेको बताइएको छ ।
त्रिभुवन विश्वविद्यालयको उच्च पदस्थ नियुक्ति तथा प्राध्यापक सङ्घको राजनीतिमा प्रभावशाली मानिने नाम हो– प्राध्यापक जगत् तिमिल्सिना । नेपाली कांग्रेस निकट मानिने उनी लामो समयदेखि विश्वविद्यालयको शैक्षिक तथा साङ्गठनिक राजनीतिमा सक्रिय रहँदै आएका छन् ।
तनहुँको शुक्लागण्डकी स्थायी घर भएका तिमिल्सिना त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक हुन् । उनी कांग्रेस निकट ‘प्रजातन्त्रवादी प्राध्यापक सङ्घ’का केन्द्रीय अध्यक्ष समेत हुन् । लोकतन्त्रवादी प्राध्यापकहरूमाझ राम्रो पकड र प्रभाव राख्ने व्यक्तिका रूपमा उनी परिचित छन् ।
तिमिल्सिनालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निकट मानिन्छ । प्राध्यापक सङ्घको नेतृत्व सम्हालिसकेका र प्राज्ञिक क्षेत्रमा लामो अनुभव सँगालेका तिमिल्सिना विश्वविद्यालय सुधार र प्राध्यापकहरूको हकहितका सन्दर्भमा भने निरन्तर सक्रिय रहँदै आएका छन् ।