सैनिक मुख्यालय अगाडि बम हल्ला फैलाउने पक्राउ, उम्मेदवार नै रहेकाले खुल्यो
काठमाडौं, १६ माघ — सैनिक मुख्यालय जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा पक्राउ परेका व्यक्ति आगामी प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार रहेकाले खुलेको छ।
सल्यानको साविक खलंगा–५ घर भई काठमाडौं–१६ बस्ने ३० वर्षीय जुद्धबहादुर सिंहलाई नेपाली सेनाले पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो। उनले जंगी अड्डा अगाडिको पेट्रोल पम्पमा झोलामा बम राखेको भनी हल्ला फैलाएका थिए। तर झोला खोलेर हेर्दा इँटा मात्रै फेला परेको थियो।
अनुसन्धानका क्रममा सिंह आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका व्यक्ति भएको खुलेको एसएसपी रमेश थापाले जानकारी दिए। उनलाई क्यालकुलेटर चुनाव चिह्न दिइएको छ। सिंह अघिल्लो निर्वाचनमा पनि उम्मेदवार बनेका थिए।