बालेनः ८५ वर्षमा व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिएन
काठमाडौं, १६ माघ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले ८५ वर्षसम्म पटक–पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफरेको टिप्पणी गरेका छन्। शहीद दिवसको अवसरमा शहीदहरूलाई श्रद्धाञ्जली दिँदै उनले यस्तो बताएका हुन्।
बालेनले भने, “८५ वर्षअघि राणाशासनको अन्त्यको माग गर्दै क्रूरतापूर्वक हत्या गरिएका शहीदहरूको बलिदानीका बावजुद राज्य जनताको बन्न सकेन। पटक–पटक व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिएन।”
उनले शहीदका सपना पूरा गर्न अझै संघर्ष आवश्यक रहेको बताए। “भदौको जेन–जी आन्दोलनमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्यो,” उनले भने।
बालेनले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउने जिम्मेवारी आफूसँग रहेको पनि बताए। “अब समय आएको छ—शहीदका रगतलाई सम्मान गर्दै उहाँहरूको सपना पूरा गर्ने। सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने,” उनले जोड दिए।
समारोहमा बालेनले सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूको स्मरण गर्दै उनीहरूको बलिदानीलाई सार्थक बनाउने प्रतिबद्धता व्यक्त गरे।