रुकुम पश्चिममा नेकपाको एकता सन्देश सभा, उत्साहजनक सहभागिता
रुकुम पश्चिम, २६ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार रुकुम पश्चिममा एकता सन्देश सभा आयोजना गरेको छ। विभिन्न कम्युनिष्ट घटकबीच एकता सुदृढ गर्ने उद्देश्यसहित आयोजना गरिएको सभामा उल्लेख्य जनसहभागिता देखिएको छ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत १५ दल मिलेर बनेको नेकपाले देशका विभिन्न जिल्लामा एकता सन्देश सभा गर्दै आएको छ। सोही कार्यक्रमअन्तर्गत रुकुम पश्चिममा आयोजना गरिएको सभामा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको सक्रिय उपस्थिति रहेको थियो।
रुकुम पूर्व पार्टी एकीकरणप्रति असहमति जनाउँदै माओवादी केन्द्र परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दन शर्माको गृहजिल्ला मानिने रुकुम पश्चिममा नेकपाको सभामा देखिएको सहभागितालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
सभामा वक्ताहरूले वामपन्थी शक्तिहरूबीच एकता, लोकतन्त्रको सुदृढीकरण र जनताको हितमा साझा कार्यक्रम आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रममा सहभागीहरूले एकतामार्फत राजनीतिक स्थायित्व र विकास सम्भव हुने विश्वास व्यक्त गरेका छन्।