झुम्का कारागारबाट फरार कैदी पक्राउ
सुनसरीको झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी अनिष मगरलाई प्रहरीले पुनः पक्राउ गरेको छ। सुनसरी इटहरी उपमहानगरपालिका–४ घर भएका २२ वर्षीय मगरलाई मोरङको सुन्दरहरैँचा नगरपालिका–५ स्थित गैरीगाउँबाट शनिबार बेलुका ६ बजे नियन्त्रणमा लिइएको हो।
गाउँघरमा लुकिछिपी बसिरहेको अवस्थामा अस्थायी प्रहरी पोस्ट बलियाबाट खटिएको टोलीले उनलाई फेला पारेको हो। कर्तव्य ज्यान मुद्दामा अदालतबाट २५ वर्ष कैद सजाय तोकिएका मगर झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए। उनी गत भदौ २४ गते कारागारमा भएको आन्दोलनको क्रममा फरार हुन सफल भएका थिए। फरार भएपछि प्रहरीले उनको खोजी कार्यलाई तीव्रता दिएको थियो।
पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ। उनलाई थप आवश्यक कारबाहीका लागि मोरङ जिल्ला अदालत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।