कर्णालीका चार जना सांसद कांग्रेसको विशेष महाधिवेशनमा
कर्णाली प्रदेश सभाका चार जना सांसद नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी भएका छन् । पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी सांसद जानकी सिंहको नेतृत्वमा चार जना सांसदहरू विशेष महाधिवेशनमा सहभागी भएका हुन् ।
सिंहसँगै कृष्णकुमार विसी, इन्द्राकुमारी शाही र देवेन्द्रबहादुर शाही विशेष महाधिवेशनको पक्षमा खुलेका हुन् । यी चारै सांसद काठमाडौँमा छन् । सिंह सुर्खेतकी हुन् भने इन्द्रा र विसी दैलेखका हुन् । देवेन्द्र शाही जुम्लाका हुन् । कर्णाली प्रदेश सभामा कांग्रेसका १५ जना सांसद छन् ।
विशेष महाधिवेशनमा सहभागी सांसद देवेन्द्रबहादुर शाहीले अहिलेको मागअनुसार पार्टी रूपान्तरणको पक्षमा आफू उभिएको बताए । ‘जेनजी आन्दोलनपछि देशमा ठुलो क्षति भयो, त्यो हाम्रा दलहरूको कमजोरीका कारण हो, हुने, नहुने गठबन्धन गर्या छन्,’ उनले भने, ‘फेरि एमालेसँगै गठबन्धन कुरा गरेका छन्, यो गलत हुन्छ । पार्टीहरू सच्चिनुपर्छ भनेर म त रुपान्तरणको पक्षमा उभिएको हो ।’ उनले विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व बदलिनुपर्ने तर्क गरे ।