सरल सहयात्री पौडेलद्वारा कुलमान घिसिङलाई नेकपामा ‘घर फर्कन’ आग्रह
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता सरल सहयात्री पौडेलले कुलमान घिसिङलाई ‘घर’ फर्कन आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङबीचको एकता भंग भएपछि पौडेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै आत्मकेन्द्रित अहंकार त्यागेर पार्टीमा फर्कन अनुरोध गरेका हुन्।
पौडेलले लेखेका छन्, “अहंकार त्यागेर प्रतिबद्धतामा खडा भए तपाईंलाई प्रधानमन्त्री नेपाली कम्युनिस्ट पार्टी र कमरेड प्रचण्डले नै बनाउनुहुन्छ।” उनले नेकपालाई संघीयता, समानुपातिक, समावेशिता, धर्मनिरपेक्षता र गणतन्त्रको ‘पिता’ भएको दाबी गरेका छन्।
सन्देशमा पौडेलले रूपकात्मक शैली प्रयोग गर्दै भनेका छन्, “आफ्ना पिता अलिक बुढा हुनुभयो भनेर मितबालाई असली पिता ठानिहाल्नु हुँदैन। आफ्नो घरको रंग पुरानो भयो भनेर छिमेकी कहाँ शरण लिन कुदिहाल्नु पनि हुँदैन।” साथै उनले, “समय दुई दिन बाँकी छ—बत्तिको चिमले आफैं उज्यालो दिने होइन, विद्युत उत्पादन गर्ने पावरहाउस नेपाली कम्युनिस्ट पार्टी हो,” भन्दै विचार गर्न आग्रह गरेका छन्।
यसअघि रास्वपाका सभापति रवि लामिछानेले आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाएर कुलमान घिसिङसँगको एकता जोगाउन नसकेको बताएका थिए। उता, उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने तयारीस्वरूप केन्द्रीय समिति बैठक बोलाएको छ।
केन्द्रीय समिति बैठकपछि साँझ ६ बजे कुलमान घिसिङले पत्रकार सम्मेलन गर्ने कार्यक्रमसमेत तय भएको छ।