पशुपतिनाथ दर्शनमा पुगे सञ्जय दत्त, आजै दिल्ली फर्किने
बलिउड स्टार सञ्जय दत्त पशुपतिनाथ दर्शनको लागि पुगेका छन् । कडा सुरक्षाबीच सञ्जय दर्शनको लागि पशुपतिनाथको मन्दिरमा पुगेका हुन् । उनले पशुपतिमा विशेष पूजा गर्ने स्रोतले जनाएको छ ।
निजी जेट लिएर अभिनेता दत्त विहिबार अपरान्ह दुबईबाट काठमाडौं आएका हुन् । पशुपतिनाथको दर्शनपछि उनी नयाँ दिल्ली फर्किने तयारीमा छन् ।
उनी विहिबार राती लाजिम्पाटको दुसित प्रिन्सेस होटलमा बसेका थिए । हिजै खुमलटार पुगेर नेकपा संयोजक पुष्पकमल दाहाललाई भेटेका थिए । दाहालकी नातिनी स्मिताको विवाहमा आउन नपाएको र चाँडै आउने वचन दिएका उनी यसपटक भेट्न खुमलटार पुगेका हुन् ।
सञ्जयले विहिबार राती होटल बाराहीले संचालनमा ल्याएको बादशाह क्यासिनो उद्घाटन गरेका थिए । काठमाडौं आउने वित्तिकै धेरै नेपाली कलाकारले संजयसँग फोटो खिचाएका छन् ।
रोचक के छ भने, अहिले नेपालका हलमा संजय अभिनित दुई फिल्म ‘धुरन्धर’ र ‘द राजा साब’ प्रदर्शनमा छन् । द राजा साब आजदेखि मात्रै रिलिज भएको हो ।