माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसमा बृहत् रैथाने कृषि मेला
काठमाडौँ — चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा यही माघ १ गते बृहत् रैथाने कृषि मेला आयोजना हुने भएको छ।
मेला प्रचारप्रसार समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र तथा रैथाने एग्री प्रोडक्ट्स नेपालले संयुक्त रूपमा मेला आयोजना गर्न लागेको जानकारी दिइएको हो।
प्रचारप्रसार समिति संयोजक रामबहादुर चौहानका अनुसार ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदाः संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता’ भन्ने मूल नाराका साथ माघे सङ्क्रान्तिका दिन काठमाडौँको भृकुटीमण्डपस्थित बगैँचा परिसरमा मेला सञ्चालन हुनेछ।
कृषि जैविक विविधताको महत्त्व, संरक्षण र दिगो उपयोगबारे जनचेतना फैलाउने तथा विशेष गरी युवालाई सक्रिय रूपमा सहभागी गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको चौहानले बताए।
मेलामा रैथाने बीउबिजन, परम्परागत कृषि प्रविधि, मौलिक खाना तथा प्रदेशस्तरीय खाद्य परिकारको प्रदर्शन गरिनुका साथै परम्परागत कृषि उपकरण, सांस्कृतिक झाँकी, नृत्य, गीत तथा कविता प्रस्तुत गरिनेछ। साथै रैथाने स्वाद, संस्कृति र ग्रामीण पर्यटनसँग सम्बन्धित जानकारी तथा परामर्शसमेत प्रदान गरिनेछ।
पुरानो रैथाने ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्दै कृषिमा युवाको आकर्षण बढाउने, रैथाने उत्पादनको व्यवसायीकरणमार्फत खाद्य सुरक्षा र स्वस्थ जीवनका लागि ‘आफ्नै माटोको उत्पादन’ उपभोग गर्न प्रोत्साहित गर्ने उद्देश्य मेलाले बोकेको आयोजकहरूको विश्वास छ।
मेलाको अवसरमा कृषि जैविक विविधता तथा रैथाने बीउबिजनको संरक्षण र व्यवसायीकरणमा सहभागीहरूको प्रतिबद्धता समेटेर घोषणापत्रसमेत जारी गरिने प्रचारप्रसार समिति संयोजक चौहानले जानकारी दिए।
नेपाल सरकारले हरेक वर्ष माघ १ गते ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ मनाउँदै आएको छ।