विदेशी शैक्षिक संस्थाको र्याङकिङ र आधिकारिकता जाँचेर मात्र पढ्न जान मन्त्रालयको आग्रह
काठमाडौं, ४ पुस — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई शैक्षिक संस्थाको र्याङकिङ र आधिकारिकता अनिवार्य रूपमा जाँचेर मात्र अध्ययन अनुमति पत्र (एनओसी) लिन आग्रह गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै विदेशी विश्वविद्यालय तथा कलेजमा पढ्न गएका नेपाली विद्यार्थी ठगिएको गुनासो बढ्दै गएपछि यस्तो आग्रह गरेको जनाएको छ। सूचना अनुसार कतिपय विद्यार्थीले आफू अध्ययनरत शिक्षण संस्था आधिकारिक नभएको, भौतिक पूर्वाधार र शैक्षिक वातावरण कमजोर रहेको तथा आर्थिक ठगीमा परेको गुनासो मन्त्रालयमा गरिरहेका छन्।
सूचनामा भनिएको छ, “विदेशमा उच्च शिक्षा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिई विभिन्न देशमा जाने विद्यार्थीहरूबाट आफ्नो शिक्षण संस्था आधिकारिक नभएको तथा ठगीमा परेको भन्ने गुनासो आइरहेकाले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।”
मन्त्रालयले विद्यार्थीलाई सम्बन्धित विश्वविद्यालय वा शिक्षण संस्थाको आधिकारिक वेबसाइट उपलब्ध छ कि छैन भन्ने जाँच गर्न र अन्तर्राष्ट्रिय मान्यताप्राप्त र्याङकिङ सूचीमा संस्था समावेश छ वा छैन भन्ने यकिन गर्न आग्रह गरेको छ। विशेषगरी टाइम्स हाइयर एजुकेसन, क्यूएस वर्ल्ड युनिभर्सिटी र्याङकिङ वा साङ्घाइ जियातोङ र्याङकिङ सूचीमा विश्वविद्यालय वा कलेज समावेश भएको हुनुपर्ने उल्लेख गरिएको छ।
मन्त्रालयले ती र्याङकिङ सूचीमा उल्लेख भए/नभएको पुष्टि गरेर मात्र वैदेशिक अध्ययन अनुमति पत्रका लागि अनलाइन फारम भर्न, एनओसी लिन तथा विदेशस्थित विश्वविद्यालय वा कलेजमा अध्ययन गर्न जान सम्बन्धित सबैलाई सूचित गरेको छ।
मन्त्रालयको यो आग्रहले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई ठगीबाट जोगाउन र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।