अमेरिकामा गोलीकाण्डपछि ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित
काठमाडौं, ४ पुस– अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ। यो कदम ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जानेगरी भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा उठाइएको हो।
घटनाका संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए। नेभेस भालेन्ते सन् २०१७ मा विविधता लटरी आप्रवासी भिसा (डीभी) कार्यक्रम मार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड पाएका थिए।
होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले ट्रम्पको निर्देशनमा उक्त भिसा योजना रोकिएको जानकारी दिइन्। उनले भनिन्, “अब कुनै अमेरिकीलाई हानि नहोस् भन्ने सुनिश्चित गर्न यस्तो निर्णय गरिएको हो।”
अमेरिकी अधिकारीहरूले नेभेस भालेन्तेले यसै हप्ता पोर्चुगिज मूलका म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का प्राध्यापक नुनो लुरेइरोको हत्या पनि गरेको विश्वास गरिएको बताएका छन्।
डीभी कार्यक्रम अन्तर्गत अमेरिका आप्रवासन दर कम भएका देशका आवेदकहरूमध्येबाट प्रत्येक वर्ष अधिकतम ५० हजार भिसा प्रदान गरिन्छ। नेपालीहरू पनि यस कार्यक्रम मार्फत अमेरिका गइरहेका छन् र ग्रिन कार्ड प्राप्त गरिरहेका छन्।