सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच यौन तथा प्रजनन स्वास्थ्य सेवामा सहकार्य
काठमाडौं । यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच आपसी सहकार्य भएको छ । यससम्बन्धी द्विपक्षीय समझदारीपत्रमा दुवै संस्थाबीच हस्ताक्षर गरिएको हो ।
सम्झौताअनुसार रिलायन्स फाइनान्स लिमिटेडसँग आबद्ध कर्मचारी, सेवाग्राही तथा आन्तरिक एवं बाह्य सरोकारवालाले सुनौलो परिवार नेपालद्वारा सञ्चालित ‘मेरी स्टोप्स सेन्टर’बाट उपलब्ध यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवाहरू १० प्रतिशत छुटमा प्राप्त गर्न सक्नेछन् ।
हाल देशका १८ जिल्लामा सञ्चालनमा रहेका २२ वटा मेरी स्टोप्स सेन्टरमार्फत सुरक्षित गर्भपतन सेवा, परिवार योजना तथा महिलाहरूको महिनावारी सुरु भएदेखि बन्द नहुन्जेलसम्मका सम्पूर्ण प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा गुणस्तरीय सेवा प्रदान हुँदै आएको छ ।
यी सेवाहरू कोशी प्रदेशका विर्तामोड, विराटनगर र इटहरी, मधेस प्रदेशका वीरगञ्ज, लहान र लालबन्दी, बागमती प्रदेशका चुच्चेपाटी, गोङ्गबु, पुतलीसडक, सातदोबाटो र नारायणगढ, लुम्बिनी प्रदेशका बर्दघाट, भैरहवा, बुटवल, चन्द्रौटा, दाङ, कोहलपुर र तौलिहवा, गण्डकी प्रदेशका डुम्रे र पोखरा, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको अत्तरिया क्षेत्रमा उपलब्ध छन् ।
सम्झौता हस्ताक्षर समारोहमा सुनौलो परिवार नेपालका प्रोग्राम तथा पार्टनरशिप म्यानेजर सृष्टि मैनाली र मार्केटिङ तथा कम्युनिकेसन म्यानेजर हिमा मिश्रको उपस्थिति थियो । यस्तै, रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत रविन शाक्यसहित अन्य कर्मचारीको सहभागिता रहेको थियो ।
दुवै संस्थाबीच भएको यस सहकार्यले वित्तीय संस्थामार्फत समुदायस्तरमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै यससम्बन्धी सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।