नेकपाले भृकुटीमण्डपमा आयोजना गर्न लागेको एकता सन्देश सभामा ५० हजार सहभागी हुने दाबी
काठमाडौं, ४ पुस– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले यस शनिबार भृकुटीमण्डपमा आयोजना गर्न लागेको एकता सन्देश सभामा करिब ५० हजार मानिस सहभागी हुने दाबी गरेको छ।
बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुने सभामा बिहान ११:३० बजे सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकामा जुलुस जम्मा हुनेछन्। जुलुस एकीकृत भएपछि दिउँसो सवा १२ बजेबाट भृकुटीमण्डप तर्फ प्रस्थान गर्ने योजना छ।
नेकपा नेता रामकुमार भट्टराईका अनुसार, “सन्देश सभामा ५० हजार मानिस आउने हाम्रो अपेक्षा छ। जुलुसको नेतृत्व दोस्रो तहले गर्नेछ। सुनधारा, नयाँ सडक चेक र शान्ति बाटिकामा मानिस भेला भएर बागबजार, पुतली सडक, पद्मदय मोड हुँदै भृकुटीमण्डपको तीनकुने सडकमा पुगेर सभा हुनेछ।”
सभामा शीर्ष नेताहरू जुलुसमा सहभागी नभई सिधै मञ्चमा प्रवेश गर्ने जनाइएको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र भीम रावलले सभा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
स्रोतका अनुसार, पार्टी एकता सन्देश दिनका लागि नेकपाले मंसिर १२ गतेदेखि सातै प्रदेशमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै आएको छ। कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र अन्य १२ वटा वामपन्थी घटक मिलेर नेकपा बनेको थियो।