अलैँची निर्यात ६० प्रतिशतले बढ्यो, चिया निर्यात घट्यो
झापा — चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले वृद्धि भएको छ।
मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो पाँच महिनामा पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ। सो अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची विदेश निर्यात गरिएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिए।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा तीन अर्ब ४५ करोड ६३ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो।
यस्तै चालु आवको पाँच महिनामा चियाको निर्यात भने ३१ दशमलव ४० प्रतिशतले घटेको छ। उक्त अवधिमा एक अर्ब ८५ करोड ६२ लाख सात हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ। अघिल्लो आवको सोही अवधिमा भने दुई अर्ब ७० करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईले बताए।
कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने अन्य मुख्य वस्तुहरूमा भेनीयर सिटको निर्यात १२९ दशमलव ९० प्रतिशतले वृद्धि भएको छ। यस्तै छुर्पी ३२ प्रतिशत, अदुवा तथा सुठो ४८ दशमलव ७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० प्रतिशत तथा मुसुरो दालको निर्यात ४८१ प्रतिशतले बढेको छ।
यसैगरी प्लाउड ४६ प्रतिशत, अम्रिसो ३५ दशमलव ५० प्रतिशत र फलामे पाताको निर्यातमा ९७ दशमलव ८० प्रतिशतले कमी आएको छ।
मेची भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो पाँच महिनामा कुल १० अर्ब ७१ करोड ५४ लाख १३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको कार्यालयले जनाएको छ।