प्रतिनिधि सभा निर्वाचनका लागि सशस्त्र प्रहरीले १७ बुँदे ‘परिचालन नीति’ सार्वजनिक
२६ मंसिर, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सशस्त्र प्रहरी बलले १७ बुँदे ‘परिचालन नीति’ तयार गरेको छ। सूचना अधिकारी तथा प्रवक्ता डीआईजी मनिष थापाका अनुसार निर्वाचन पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिम्मेवारी त्रुटिरहित रूपमा निर्वाह गर्ने उद्देश्यले नीति तर्जुमा गरिएको हो।
नीतिअनुसार निर्वाचनको एक महिना अगाडि नै प्रत्येक निर्वाचन क्षेत्रमा ‘सुरक्षा वेश’ स्थापना गरिनेछ। त्यस्तै, स्ट्राइकिङ र मोबाइल टोलीहरू १५ दिनअघि नै परिचालन गरिने उल्लेख छ।
जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र कारागारबाट फरार कैदीबन्दी अझै नियन्त्रणमा नआएकोले सुरक्षा चुनौती बढेको सशस्त्र प्रहरीले जनाएको छ। यस कारण यसपटकको निर्वाचन अत्यन्त संवेदनशील र चुनौतीपूर्ण मानिएको छ।

