विराटनगरमा १ सय ३१ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
२६ मंसिर, विराटनगर। विराटनगरमा प्रहरीले १ सय ३१ ग्राम खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बिहीबार विराटनगर–४ नोबेल अस्पताल नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा सुनसरी हरिनगरा–७ का ५२ वर्षीय हबिब खाँ र हरिनगरा–४ का ३० वर्षीय इरसाद आलम रहेका छन्। पक्राउ परेकामध्ये हबिब खाँकै साथबाट १ सय ३१ ग्राम खैरो हेरोइन फेला परेको जानकारी डीएसपी कोपिला चुँडालले दिइन्।
उनीहरूले प्रयोग गरेका को २७ प ६४८१ र बीआर १९ वाई ९५३ नम्बरका दुई वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। आलम भारतीय नम्बर प्लेटको मोटरसाइकलका चालक भएको बताइएको छ। दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।