देउवाले शीर्ष नेताहरूलाई महाधिवेशन र विधान मस्यौदा छलफलका लागि बोलाए
काठमाडौं, ४ पुस – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष तहका चार नेतालाई महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा सम्बन्धी छलफलका लागि बैठक बोलाएका छन्।
शनिबार बिहान ९ बजे बस्ने गरी देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा बोलाएका हुन्।
कांग्रेसले पुस २६ देखि २८ सम्म केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ। तर, कार्यतालिका व्यवहारिक नभएको भन्दै नेताहरूले कार्यान्वयनमा समस्या आउन सक्ने चिन्ता व्यक्त गरेका छन्। पुस १६ मा वडा अधिवेशन सम्पन्न गरेर २६ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम तय गरिएको छ।
निर्वाचन र क्रियाशील सदस्यता छानबिन समिति गठन भए पनि अहिलेसम्म विधान मस्यौदा समिति बन्न सकेको छैन।