मन्त्रालयले वैदेशिक रोजगारी जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क पुनरावलोकन गर्ने
काठमाडौं, ४ पुस – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्ने निर्णय गरेको छ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राजेन्द्रसिंह भण्डारीले स्वास्थ्य परीक्षण शुल्क अत्यन्तै महँगो भएको उल्लेख गर्दै पछिल्लो शुल्क वृद्धिलाई पुनरावलोकन गर्न प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन्।
‘स्वास्थ्य परीक्षण शुल्क चर्को भएको कुरा आएको छ, शुल्क वृद्धि खारेजको प्रक्रियामा जाँदैछौं’, मन्त्री भण्डारीले भने। केही समयअघि ६ हजार ५०० रुपैयाँ रहेको शुल्क बढाएर ९ हजार ५०० रुपैयाँ बनाइएको थियो।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरूलाई सीपमूलक तालिम दिने बहानामा ठगीका घटना बढेको उल्लेख गर्दै सरकारले आफैले तालिम दिने विषयमा पनि सोचिरहेको बताए। वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि संयन्त्रगत काम सुरु गरिएको उनले बताए।
कार्यक्रममा मन्त्रालयका सचिव डा. कृष्णहरि पुस्करले मानव अधिकार हरेक श्रमिकको अधिकार भएकाले सम्मानजनक रुपमा श्रम गर्न पाउनुपर्नेमा जोड दिए। वैदेशिक रोजगार व्यवसायी, मानव अधिकार सञ्जाल र संघसंस्थासँगको सहकार्य आवश्यक हुने उनको भनाइ थियो।
वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले नयाँ गन्तव्यमा रोजगारका अवसरमा जाने मानव अधिकारलाई राज्यले सहज बनाउनुपर्नेमा जोड दिए।
उक्त कार्यक्रममा मन्त्रालयका उपसचिव महेश पराजुली र संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) का प्रतिनिधि टेक टमाटाले श्रम र मानव अधिकारसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।
मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन दिवस पुस ७ गतेसम्म विभिन्न कार्यक्रम गर्दै मनाइरहेको छ।