प्रधानमन्त्री कार्कीः सुशासन र निर्वाचन सरकारको अर्जुन दृष्टि
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनको भावनाअनुसार वर्तमान सरकारले सुशासन र निर्वाचनलाई नै मुख्य लक्ष्य (अर्जुन दृष्टि) बनाएको बताएकी छन् । सरकार गठनको १०० दिन पूरा भएको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले तोकिएकै समयमा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सरकारको प्रतिबद्धता दोहोर्याइन् ।
प्रधानमन्त्री कार्कीले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अब केवल कार्यतालिका मात्र नभई मुलुकलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने निर्णायक मार्ग भएको बताइन् । निर्वाचन सार्ने वा रोक्ने हल्ला निराधार भएको उनको भनाइ थियो ।
सुरक्षाका विषयमा सरकारले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरिसकेको र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको जानकारी दिँदै उनले आन्दोलनका क्रममा लुटिएका अधिकांश हतियार बरामद भइसकेको, क्षतिग्रस्त ४६५ प्रहरी कार्यालय पुनः सञ्चालनमा आएको र निर्वाचन आयोगका लागि ६ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको बताइन् ।
प्रधानमन्त्रीले मतदाता नामावली ऐन संशोधन गरी निर्वाचन मिति घोषणा पछि पनि ८ लाख ३७ हजार नयाँ युवालाई मताधिकार सुनिश्चित गरिएको उल्लेख गरिन् । हाल १ करोड ८१ लाखभन्दा बढी मतदाता र ११४ राजनीतिक दल निर्वाचन प्रक्रियामा सहभागी हुनु लोकतन्त्रको बलियो आधार भएको उनको भनाइ छ ।
१०० दिनको अवधिमा शान्ति सुरक्षाको पुनःस्थापना, भ्रष्टाचारविरुद्ध कारबाही, फजुल खर्च नियन्त्रण, अनावश्यक कार्यालय खारेजी, बजेट पुनःप्राथमिकता, व्यवसाय पुनरुत्थान योजना, मेलम्चीको पानी वितरण र विद्युत आपूर्ति विस्तारलगायत उपलब्धि हासिल भएको प्रधानमन्त्री कार्कीले दाबी गरिन् ।
सन्देशको अन्त्यमा उनले निर्वाचनलाई हार–जितको प्रतिस्पर्धा होइन, लोकतन्त्र, सुशासन र राष्ट्रियताको विजयको अभियानका रूपमा लिन आग्रह गर्दै फागुन २१ को निर्वाचनलाई राष्ट्रिय एकताको प्रतीकका रूपमा सफल बनाउन आह्वान गरिन् ।