उपसभामुख इन्दिरा राना मगर सङ्घीय संसद् सचिवालयबाट बिदा
काठमाडौँ । उपसभामुख इन्दिरा राना मगर सङ्घीय संसद् सचिवालयबाट बिदा भएकी छन्।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार उपसभामुख राना मगरले आफ्नो निजी सचिवालयले प्रयोग गर्दै आएको गाडी बुझाएर सचिवालयबाट फर्किएकी हुन्। तर, निजी सचिवालयबाट औपचारिक रूपमा गाडी बुझाएको जानकारी भने अहिलेसम्म प्राप्त नभएको प्रवक्ता गिरीले जानकारी दिए।
संविधानमा प्रतिनिधिसभा विघटन भएको अवस्थामा अर्को निर्वाचनका लागि उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिन सभामुख र उपसभामुखको कार्यकाल समाप्त हुने व्यवस्था छ। तर, संविधानमा स्पष्ट व्यवस्था नहुँदा उम्मेदवारी दाखिलाको अघिल्लो दिन कुनलाई मान्ने भन्ने विषयमा विवाद देखिएको छ।
समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाउने अघिल्लो दिन मान्ने कि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन मान्ने भन्नेमा अन्योल रहेको छ।
यसैबीच, सभामुख देवराज घिमिरेले भने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन पद छोड्ने जानकारी दिएको उनको सचिवालयले जनाएको छ।
निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउने मिति पुस १३ र १४ गते तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने मिति माघ ६ गते तोकेको छ।