सेयर मूल्य कृत्रिम रूपमा बढाएको आरोपमा दीपेन्द्र अग्रवाल पक्राउ
काठमाडौं, ४ पुस — केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ। सेयर मूल्य कृत्रिम रूपमा बढाउने, झुटो कारोबार गर्ने र बजार मूल्य प्रभावित पार्ने कसुरमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
यसअघि नेपाल धितोपत्र बोर्डले अग्रवालमाथि अनुसन्धान गर्दै कारबाही प्रक्रिया अघि बढाएको थियो। बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा सीआईबीले उनलाई काठमाडौंको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको हो।
सीआईबीका अनुसार अग्रवालले सस्तोमा सेयर खरिद गरी भ्रामक प्रचार–प्रसारमार्फत सेयर मूल्य बढाउने र त्यसपछि उच्च मूल्यमा बिक्री गर्दै आएका थिए। आफूले सेयर किनेपछि सामाजिक सञ्जालमार्फत अन्य लगानीकर्तालाई खरिद गर्न उक्साउने, निश्चित मूल्यसम्म पुर्याउने भन्दै झुट्टा आश्वासन दिने गरेको अनुसन्धानबाट खुलेको छ। लगानीकर्ताले सेयर किन्न थालेपछि भने उनले आफ्ना सेयर बिक्री गर्ने गरेको सीआईबीको आरोप छ।
नेपाल धितोपत्र बोर्डको अध्ययनले पनि अग्रवालले झुटो कारोबार र भ्रामक सूचना प्रवाह गरेको ठहर गरेको थियो। सोही आधारमा उनीविरुद्ध अनुसन्धान अघि बढाइएको हो।
सीआईबीका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गरी भ्रामक सूचना सार्वजनिक गर्दै उच्च मूल्यमा बिक्री गरी करिब ४९ लाख १९ हजार रुपैयाँ कानुनविपरीत नाफा आर्जन गरेका छन्। साथै, आपसी खरिद–बिक्री तथा आफन्त वा सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको आरोप पनि उनीमाथि लागेको छ।
त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि कृत्रिम रूपमा बढाएको आरोप सीआईबीले लगाएको छ।
अनुसन्धानका क्रममा अग्रवालले अन्य व्यक्तिका कारोबार खाता आफूले नै सञ्चालन गर्ने, धितोपत्र ब्रोकरसँग लिनुपर्ने पैसा असुल गर्ने तर तिर्नुपर्ने रकममा विभिन्न बहाना गर्दै भुक्तानी नगर्ने गरेको पाइएको छ। साथै, एक कारोबार खाताको रकम अर्को व्यक्तिको खातामा स्थानान्तरण गर्ने जस्ता गतिविधिका कारण पनि धितोपत्र बोर्डमा उजुरी परेको थियो।
सीआईबीले यस प्रकरणमा थप अनुसन्धान जारी रहेको जनाएको छ।