राहदानी र श्रम स्वीकृति वडा तहबाटै दिने तयारी : मन्त्री भण्डारी
९ पुस, काठमाडौं ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी, श्रम स्वीकृति लगायत वैदेशिक रोजगारीसम्बन्धी सबै कागजात वडा तहबाटै उपलब्ध गराउने व्यवस्था गर्न गृहकार्य भइरहेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित अनौपचारिक तथा स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले कागजातका नाममा ठगी र झन्झट व्यहोर्नु परेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि वडा तहबाटै सेवा दिनुपर्ने आवश्यकता औंल्याए।
उनले देशभित्रै सानो काम गर्न पनि अनेक झमेला सहनु परेपछि नेपाली युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य भएको बताए। राज्यले श्रमिकहरूको हितमा प्रभावकारी काम गर्न नसक्दा उनीहरू दलालको फन्दामा पर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो।
मन्त्री भण्डारीले राज्यको उपस्थिति कमजोर हुँदा नेपाली श्रमिकहरू देशभित्रै पनि ठगीको चपेटामा परेको उल्लेख गर्दै श्रमिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।