रौतहटमा ट्रक–कार ठोक्किँदा एक वृद्धको मृत्यु, दुई घाइते
रौतहटको चन्द्रपुर नगरपालिका–४ अन्तर्गत पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचक नजिक ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटना बिहान ७:५० बजे बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक–अर्कालाई ओभरटेक गर्ने क्रममा ठोक्किँदा भएको हो।
जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरका अनुसार कारमा सवार बारा निजगढका करिब ८०–९० वर्षका एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मृतकको परिचय आफन्त आएपछि मात्र खुल्ने बताइएको छ।
दुर्घटनामा कार चालक बारा निजगढका करिब ३० वर्षीय दिनेश थपलिया र चन्द्रपुर–६ का २० वर्षीय डोरमणि सापकोटा घाइते भएका छन्। थपलियाको टाउको र अनुहारमा चोट लागेको छ भने सापकोटाले छाती दुख्ने समस्या अनुभव गरिरहेका छन्।
उक्त घटनापछि ट्रक चालक मकवानपुर हेटौँडा–७ का ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्दरनिगाहपुरले जनाएको छ।