सल्यानबाट विप्लव माओवादी द्वारा ६ जना समानुपातिक उम्मेदवार सिफारिस
सल्यान । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिल्ला समिति सल्यानले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ।
फागुन २१ गते घोषित निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला समितिले विभिन्न क्लस्टर र समुदायको प्रतिनिधित्व हुने गरी ६ जनाको नाम छनोट गरी पार्टीको केन्द्रीय कार्यालयमा पठाएको हो।
उम्मेदवार सिफारिस सम्बन्धि जानकारी दिँदै पार्टीका केन्द्रिय सदस्य भीम भारतीले जिल्ला समितिले समावेशी सिद्धान्तका आधारमा उम्मेदवारहरूको नाम टुङ्गो लगाएको बताउनुभयो। उहाँका अनुसार सिफारिस प्रक्रियामा खस आर्य, दलित, महिला, आदिवासी जनजाति, घाइते तथा अपाङ्ग र शहीद परिवार लगायतका वर्ग र समुदायलाई विशेष प्राथमिकता दिइएको छ।
समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानीय तहबाट योग्य उम्मेदवारहरू छानिएको पार्टीले जनाएको छ।
सिफारिस गरिएका उम्मेदवारहरूमा बागचौर नगरपालिका-८ बाट हेमन्ता बुढाथोकी, त्रिवेणी गाउँपालिका-१ का कुलराम कामी र दार्मा गाउँपालिका-४ का बन्धु चन्द रहनुभएको छ। त्यसैगरी, कालिमाटी गाउँपालिका-६ बाट कृष्ण बहादुर खत्री, बनगाड कुपिण्डे नगरपालिका-१ का खुमलाल बुढा र छत्रेश्वरी गाउँपालिका-४ की सीता शाहलाई पनि समानुपातिक उम्मेदवारका लागि सिफारिस गरिएको छ।
जिल्ला सचिव अनिल सी र जिल्ला इन्चार्ज आधार सी द्वारा संयुक्त रूपमा हस्ताक्षरित प्रेस नोट मार्फत सार्वजनिक गरिएको उक्त सूचीमा पार्टीले सबै भूगोल, लिङ्ग र समुदायको भावनालाई समेट्ने प्रयास गरेको उल्लेख छ। जिल्लाले पठाएका यी नामहरूमाथि अब पार्टीको केन्द्रीय तहमा छलफल भई अन्तिम नामावलीको टुङ्गो लाग्ने जानकारी समेत भीम भारतीले दिनुभयो।



