वाम घटकहरूको एकतासँगै ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन, २३ बुँदे घोषणापत्र सार्वजनिक
१९ कात्तिक, काठमाडौं । विभिन्न १० वटासम्म कम्युनिस्ट घटकहरू एकताबद्ध भई नयाँ ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरिएको छ। राजधानीको भृकुटीमण्डपमा बुधबार आयोजित विशेष समारोहकाबीच एकता घोषणा गर्दै पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरिएको हो।
घोषणापत्र पार्टीका नेता देव गुरुङले सभामा प्रस्तुत गरेका थिए। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न वाम घटकहरू मिलेर नयाँ दल गठन गरिएको हो।
कार्यक्रममा नेता महेन्द्रराय यादवले पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाललाई तोक्ने प्रस्ताव पेस गरेका थिए। सो प्रस्ताव सभा हलबाट सर्वसम्मत रूपमा पारित गरिएको छ।