कांग्रेस संस्थापन पक्षीय नेताहरूको नयाँ बानेश्वरमा भेला आज
नेपाली कांग्रेसको संस्थापन पक्षीय नेताहरूले छुट्टै भेला आयोजना गर्ने भएका छन्। केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा बस्ने तयारी गरिएको केन्द्रीय सदस्य गुरू बरालले जानकारी दिएका छन्। उनका अनुसार भेलामा पार्टीभित्रको पछिल्लो अवस्था, आगामी १५औं महाधिवेशनको मिति निर्धारण र २१ फागुनमा तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारीबारे छलफल हुनेछ।
बरालले आफूहरू आवधिक निर्वाचनमा विश्वास गर्ने कार्यकर्ता भएको र त्यसबाट पछि हट्न नचाहने बताए। त्यस्तै, केन्द्रीय सदस्य नैनसिंह महरले पनि नयाँ बानेश्वरमा हुने छलफलमा सहभागी हुने बताउँदै पार्टीको निकासका विषयमा विचारविमर्श गरिने जानकारी दिए। संस्थापन पक्षका नेताहरूले पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको भेरिफिकेसन गरी विशेष महाधिवेशनको मागबारे स्पष्टता ल्याउनुपर्ने माग गर्ने तयारीसमेत गरेका छन्।
बरालका अनुसार सामाजिक सञ्जाल र मिडियामा विशेष अधिवेशनको चर्चा भए पनि त्यसबारे आधिकारिक रूपमा जानकारी नआएकाले केन्द्रीय कार्यालयमा दर्ता भएको भनिएका हस्ताक्षरहरूको सत्यता पुष्टि गर्न आवश्यक भएको बताएका छन्।