प्रचण्ड : १७ गतेसम्म जनार्दन पनि एक ढिक्का रहनुहुनेछ
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता जनार्दन शर्मासँग पार्टीभित्रको मतभेद दीर्घकालीन नहुने दाबी गरेका छन्।
शनिबार पेरिसडाँडामा पत्रकारहरूसँग कुरा गर्दै उनले कात्तिक १७ गते हुने पार्टी महाधिवेशन आयोजक समितिको बैठकसम्म जनार्दन शर्मा पनि पार्टी एकताको पक्षमा एक ढिक्का रहने विश्वास व्यक्त गरे।
प्रचण्डले शर्माले पार्टी बैठकमा फरक मत राखेपनि अरूको कुरा नसुनी बैठकबाट निस्किएको शैली ठिक नभएको टिप्पणी गरे। उनले भने, “बसौँ भन्दाभन्दै उहाँ निस्किनुभयो। आफ्ना कुरा राख्ने तर अरूको कुरा नसुन्ने शैली राम्रो होइन।”
उनले हाल माओवादी केन्द्रमा एकताको भावना बलियो रहेको भन्दै पार्टीभित्र मतभेद समाधान हुने विश्वास व्यक्त गरे।