रुकुमपूर्वको मैकोटबाट १५ वर्षीया गर्भवती बिरामी हेलिकोप्टरमार्फत उद्धार
पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी १५ वर्षीया गर्भवती किशोरीलाई हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको छ।
आज बिहान करिब पौने १० बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत उनलाई उद्धार गरिएको हो।
गर्भवती किशोरीलाई ज्वरोले च्यापेपछि मङ्गलबार बिहान करिब ४ बजे स्वास्थ्य चौकी मैकोटमा ल्याइएको थियो। स्वास्थ्यकर्मीले जाँच गर्दा उनको अवस्था जटिल देखिएपछि हेलिकोप्टरमार्फत रेफरका लागि प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित निकायलाई जानकारी गराइएको पुथाउत्तरगङ्गा गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक कलिभान विष्टले जानकारी दिए।
विष्टका अनुसार बिरामीको बच्चा जन्मने समय मङ्सिर महिनामा भए पनि अहिले नै पेट अस्वाभाविक रूपमा फुलेको, काम्ने र बेहोस हुने लक्षण देखिएको थियो।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत मैकोटबाट प्रादेशिक अस्पताल सुर्खेत पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले जानकारी दिए।