नख्खु कारागारबाट भागेका थप एक जना पक्राउ
ललितपुरस्थित नख्खु कारागारबाट भागेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–९ घर भएका अनिल कुमार तामाङ छन् । ४७ वर्षीय तामाङलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए ।
सवारी अङ्गभङ्ग मुद्दामा ४७ वर्षीय तामाङ पुर्पक्षका लागी थुनामा थिए । उनलाई नख्खु कारागारमा पठाइएको एसएसपी बोगटीले बताए ।
यसअघि नख्खुबाट भागेका झापाको महाभारा नगरपालिका–४ घर भएका ३७ वर्षीय मानसिंह सुवेदीलाई सशस्त्र प्रहरीले पक्राउ गरेर कारागार बुझाएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि नख्खु कारागारबाट भागेका एक जना फरार कैदीलाई पक्राउ गरेको थियो ।