सांसदको काम देश बनाउने र थिति बसाल्ने हो : रास्वपा उपसभापति वाग्ले
२० कात्तिक, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले सांसदको काम देश बनाउने र प्रणाली सुधार गर्ने रहेको बताएका छन्।
दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई विभिन्न सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उनले भने, “जनताले मलाई देश बनाउने, कानुन बनाउने र थिति बसाल्ने जिम्मेवारी दिएका हुन्।”
वाग्लेले साना कामका लागि स्थानीय तह जिम्मेवार हुने उल्लेख गर्दै आफूले सांसदका रूपमा इमानदार प्रयास गरेको बताए।
उनका अनुसार दमौली खानेपानी उपभोक्ता संस्थाले विगतमा सहयोगको आग्रह गरे पनि सरकारमा नभएकाले बजेट विनियोजन गर्न नसकिएको थियो। “खानेपानी संवेदनशील विषय हो। सरकारको बजेट नहुँदा निजी क्षेत्र र दानवीरहरूबाट सहयोग जुटाएर सघाएका थियौं,” उनले भने।
संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठका अनुसार हाल तीन हजार ८०० निजी धाराबाट २५ हजारभन्दा बढी जनसंख्याले खानेपानी सुविधा पाइरहेका छन्।