पूर्ण विद्युतिकरण ढिला : प्राधिकरणको काम अझै अलपत्र
काठमाडौं ।नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक (एमडी) मनोज सिलवाल, उप–प्रबन्ध निर्देशक (डीएमडी) दीर्घायुमान श्रेष्ठ, र कर्णाली प्रदेश विद्युत प्राधिकरण प्रमुख इन्जिनियर शशिभूषण सहितको टिमलाई पूर्ण विद्युतिकरण ठेक्का कार्यमा भइरहेको चरम लापरबाही र ढिलासुस्तीका विषयमा कडासाथ जनताको आवाज बुलन्द गरिएको छ।
प्राधिकरणको केन्द्रीय कार्यालयमा जनप्रतिनिधि, स्थानीय सरोकारवाला र सर्वसाधारणले उपस्थित भएर यस विषयमा ध्यानाकर्षण गराएका हुन्।
यसअघि पनि सल्यान जिल्ला र सुर्खेतमा रहेका वितरण केन्द्रहरूमा जनसहभागितासहित पटक–पटक खबरदारी र ध्यानाकर्षण कार्यक्रमहरू भइसकेका छन्।
स्थानीय स्तरमा विद्युतिकरणको पुरानो ठेक्का लामो समयदेखि ठप्प रहेकाले जनताले असन्तुष्टि व्यक्त गरेका छन्। प्राधिकरणले यथाशीघ्र बाँकी काम अघि बढाउने र अधुरो क्षेत्रमा नयाँ ठेक्का प्रक्रिया मार्फत पूरा गर्ने प्रतिबद्धता जनाएको भए पनि सो प्रतिबद्धता तीन वर्षदेखि दोहोरिँदै आएको जनगुनासो छ।
जनप्रतिनिधिहरूका अनुसार, प्राधिकरणले ठेकेदारलाई पटक–पटक म्याद थप्दै आएको भए पनि ठेक्काको सामान नआउनु र काम नबढ्नु लाजमर्दो अवस्था बनेको छ।

“२१औँ शताब्दीमा पनि महसुल तिरेर बस्ने जनताले बत्ती बाल्न नपाउनु दुःखद कुरा हो, अब प्राधिकरणले यसको जवाफ दिनैपर्छ,” स्थानीयले बताएका छन्।
गाउँपालिका अध्यक्ष निमबहादुर केसीले पनि यस विषयमा विशेष पहल गर्दै स्थायी समाधानका लागि निरन्तर समन्वय गरिरहेका छन्।
स्थानीय बासिन्दाहरूले भनेका छन्, “अब आश्वासन होइन, काम अगाडि बढेको हेर्न चाहन्छौ।” प्राधिकरणले तत्काल काम अगाडि नबढाए चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी दिएको छ।
