निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि ५ दिन म्याद थप्यो
२८ कात्तिक, काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि म्याद ५ दिन थप्ने निर्णय गरेको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, प्रधानमन्त्री, गृहमन्त्री र अन्य सरोकारवालाको सुझाव तथा दर्ता प्रक्रियामा देखिएको उच्च चापलाई मध्यनजर गर्दै म्याद थप गरिएको हो।
भण्डारीले अनलाइनखबरसँग भने, “मतदाता नामावली दर्ता गर्नेहरूको चाप कायमै रहेकाले ५ दिन म्याद थप गरेका हौं।”
यसअघि सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो। म्याद थपिएसँगै अब मतदाता नामावली ५ मंसिरसम्म दर्ता गर्न सकिने छ।