सडक किनारको ह्युम पाइपभित्र पुरुषको शव फेला
कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ३ दैजीस्थित पूर्व–पश्चिम राजमार्गको किनारमा रहेको ह्युम पाइपभित्र एक पुरुषको शव सडेको अवस्थामा फेला परेको छ । सोमबार बिहान साढे १० बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार मृतक अन्दाजी ३० देखि ३५ वर्षका पुरुष रहेका छन् । उनको पहिचान भने हुन सकेको छैन । घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान सकेर शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा पठाएको छ ।
शव सडेको अवस्थामा रहेकाले केही दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको प्रकृति हेर्दा हत्या वा अन्य केही कारणले मृत्यु भएको हो भन्ने विषयमा पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्रै भन्न सकिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीले मृतकको पहिचानका लागि वरपरका स्थानीयसँग सोधपुछ गर्नुका साथै हुलिया परिपत्र गरेर अनुसन्धानलाई अगाडि बढाएको छ ।