मधेश प्रदेश प्रमुखको कार्यालय अगाडि पनि तोडफोड
मुख्यमन्त्री नियुक्तिको विवादमा मधेश प्रदेशकी प्रदेश प्रमुखको कार्यकक्षमा पनि तोडफोड भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका व्यक्तिहरूले कार्यालयमा तोडफोड गरेका हुन्। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहितका प्रदेश सांसद र कार्यकर्ताहरूले यो गतिविधि गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड तथा गमलाहरू समेत तोडफोड गरिएको छ। प्रदर्शनकारीहरू प्रदेश प्रमुख कार्यालय अगाडि नाराबाजी जारी राखिरहेका छन्।
अस्वस्थ भएर उपचारका लागि काठमाडौं गएकी प्रदेश प्रमुख भण्डारीले एमालेका सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनले यादबलाई बर्दिबासको एक होटेलमा शपथ गराएकी थिइन्। यसअघि मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि तोडफोड भएको थियो।