बीपी राजमार्ग काभ्रेपलाञ्चोक खण्डमा पहिरो र लेदोले अवरुद्ध, अझै खुलेन सडक
काभ्रेपलाञ्चोक, कात्तिक १५ – लगातारको वर्षापछि बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा खसेका पहिरो र लेदोका कारण सडक यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। शुक्रबार बिहानदेखि रोकिएको यातायात आज (शनिबार) दिउँसोसम्म पनि सञ्चालनमा आउन सकेको छैन।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदोका कारण सडक सञ्चालनमा अवरोध पुगेको हो।
उनका अनुसार चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्ती क्षेत्रमा पहिरो खसेका छन् भने नार्के, पिन्थलीबेशी, विरुवाडाँडा र डालाबेशी क्षेत्रमा लेदो जम्दा सडक पूर्ण रूपमा बन्द भएको छ।
त्यसैगरी, माम्तीको तल्लो भेगमा गत असोजमा सडक बगेर बनाइएको डाइभर्सनमा लेदो सहितको बाढी पस्दा सडक पुर्णरूपमा अवरुद्ध भएको छ।
प्रहरी निरीक्षक कार्कीले अवरोध हटाएर राजमार्ग सञ्चालन गर्न समय लाग्ने जानकारी दिँदै यात्रुहरूलाई सुरक्षित यात्राका लागि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेका छन्।
सडक अवरुद्ध हुँदा पूर्वतर्फ जाँदै गरेका सवारीसाधनहरू काभ्रेको भकुन्डेमा रोकिएका छन् भने पूर्वबाट काठमाडौं आउँदै गरेका सवारीहरू समेत बीचमै अल्झिएका छन्। यस कारण यात्रुहरू मार्कामा परेका छन्।