महाधिवेशन मिति विवादबीच कांग्रेस महामन्त्री शर्माको ‘मध्यमार्गी’ प्रस्ताव
१५ कात्तिक, काठमाडौं — नेपाली कांग्रेसमा महाधिवेशनको मिति तय गर्नुपर्नेबारे चलिरहेको रस्साकस्सीबीच महामन्त्री विश्वप्रकाश शर्माले शनिबार ‘मध्यमार्गी’ प्रस्ताव अघि सारेका छन्।
सानेपामा बसेको पदाधिकारी बैठकमा शर्माले महाधिवेशन कहिले गर्ने भन्ने विषय महासमितिबाट नै निर्णय गर्नुपर्ने सुझाव दिएका छन्। उनका अनुसार, १५औँ महाधिवेशन आमनिर्वाचनअघि गर्ने कि निर्वाचनपछि गर्ने भन्ने विषयमा महासमिति सदस्यहरूको राय डिजिटल भोटिङ प्रणालीमार्फत संकलन गर्न सकिनेछ।
शर्माले भने, “प्रविधिको युगमा दुई दिनमै यो प्रक्रिया सकिन्छ, यसले पुरानो दलभित्र नयाँ अभ्यासको सन्देश पनि दिनेछ।”
महाधिवेशनको मिति मंसिर वा वैशाखमा गर्नेबारे विवाद भइरहेका बेला उनले पुस १६ देखि १९ गतेसम्मको मिति ‘मध्यमार्गी’ विकल्पका रूपमा प्रस्ताव गरे।
उनले दलभित्र इश्युभन्दा ‘इगो’ केन्द्रमा रहेको प्रवृत्तिले समस्या बढाएको भन्दै कांग्रेसले राष्ट्रिय राजनीति र आन्तरिक जीवन दुवैमा ‘इगो’ मुक्त भएर अघि बढ्नुपर्नेमा जोड दिए।