तिनकुनेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
काठमाडौँ — काठमाडौँको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–३२ तिनकुनेस्थित सडकमा नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०५९प–४८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा परेका काभ्रे पनौती घर भएका ३३ वर्षीय नवराज पुरीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते अर्का व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।