कतार भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फिर्ता
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, परराष्ट्र सचिव तथा सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरे। सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा प्रस्थान गरेका थिए।
राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’को मुख्य सत्रलाई मङ्गलबार सम्बोधन गरेका थिए। सोही दिन उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गरेका थिए।
पौडेलले बुधबार कतार राष्ट्रिय सङ्ग्रहालयको समेत अवलोकन गरेका थिए।