गौरीफन्टा नाकाबाट ५२ तोला सुन र १ किलो चाँदी बरामद, चार नेपाली पक्राउ
कैलालीसँग जोडिएको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै १ किलो चाँदीसहित चार नेपाली पक्राउ परेका छन् । ६१६.९ ग्राम सुन र ७८०.८ ग्राम चाँदीसहित चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २५ वर्षीय दीपक नरसिहं, ३७ वर्षीय भुवनसिंह चलाउने, ४७ वर्षीय जीवनकुमार थारू र ५६ वर्षीय खेमराज कुलपति देवकोटा रहेको भारतीय प्रहरीले जनाएको छ । उनीहरूको नेपालको ठेगाना भने खुलाइएको छैन ।
भारतको क्राइम ब्रान्च महाराष्ट्रबाट खटिएको प्रहरीको टोलीले बीओपी गौरीफन्टा चेक पोस्टबाट खटिएको टोलीको सहयोगमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले महाराष्ट्रबाट सुन र चाँदी चोरी गरेर ल्याएको आरोप छ । चारै जनालाई थप अनुसन्धानका लागि क्राइम ब्रान्च र गौरीफन्टा प्रहरीले जिल्ला खिरी पठाएको छ ।