एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ क्षेत्रमा हालसम्म १६२ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना सञ्चालनमा छन् – घलेम्दी खोला (५ मेगावाट ), म्रिस्ती खोला (४२ मेगावाट ), नीलगिरि–१ (३८ मेगावाट ), नीलगिरि–२ (७१ मेगावाट ) र रेले खोला (६ मेगावाट )। ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी आयोजना निर्माणाधीन छ भने ९.१४ मेगावाट सुपर घलेम्दी र १६४ मेगावाट कालीगण्डकी गर्ज आयोजना निर्माणको तयारीमा छन्।
यी आयोजनाले नारच्याङको आर्थिक, सामाजिक र भौतिक विकासमा ठूलो परिवर्तन ल्याएका छन्। सडक, पुल, विद्यालय, स्वास्थ्य भवन, बिजुली, रोजगारी र व्यापारका अवसर बढेका छन्। स्थानीयले शेयर लगानी, मुआब्जा, ठेक्का, होटल व्यवसाय आदिबाट आम्दानी बढाएका छन्।
२०७१ सालमा म्रिस्तीखोलाले बनाएको बेलिब्रिजपछि नारच्याङ सडक सञ्जालमा जोडिएको हो। नीलगिरि र रेले खोलाका सडक विस्तारले यातायात र पर्यटन सहज बनेको छ। दानास्थित २२० केभी सबस्टेशनमार्फत उत्पादन भएको बिजुली राष्ट्रिय ग्रिडमा जोडिएको छ। जलविद्युत् आयोजनाका कारण बसाइँसराइ घटेको र गाउँमा फर्किनेको संख्या बढेको स्थानीयले बताएका छन्।