माओवादी नेता आङ्बोको गाडीको ठक्करमा एकको मृत्यु”
विराटनगर, २७ कात्तिक– कोशी प्रदेश नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चढ्ने गाडीले ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ।
ग्रामथान गाउँपालिका–५ कखरमारीमा विराटचोकतर्फ जाँदै गरेको मोटरसाइकल (को ९ प ७५ नम्बर) लाई प्रदेशसभाको स्कारपियो (को १ झ ६५० नम्बर) ले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटना हुँदा नेता आङ्बो गाडीमा सवार थिएनन्। उक्त गाडी उनका स्वकीय सचिव गम्भीरमान सार्कीले चलाइरहेका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका नेता आङ्बोले दुर्घटनाको पुष्टि गर्दै आफू त्यतिबेला सुन्दरहरैंचामा रहेको स्पष्ट पारे।
उनले भने, *“म सुन्दरहरैंचामा थिएँ। मलाई लिन आउँदै गरेको गाडी दुर्घटनामा परेको थाहा पाएको छु। मानिसको मृत्यु भएको पनि सुनेँ, यो अत्यन्त दुःखद घटना हो।”*
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।