रुपन्देही उद्योग संघको अध्यक्षमा पराजुली निर्वाचित
रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुलीसहित सबै पदमा निर्विरोध निर्वाचन भएको छ। रुपन्देहीका १ हजार ६९ उद्योगी आवद्ध रहेको संघको शनिबार सम्पन्न २४औं अधिवेशनबाट अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध चयन भएको निर्वाचन समितिका सदस्य दिनेश पाण्डेले जानकारी दिए।
बिहीबार भएको मनोनयनमा अधिकांश पदमा एकल उम्मेदवारी परेपछि शुक्रबार नै निर्विरोध घोषणा गरिएको पाण्डेले जनाए। दोहोरो उम्मेदवारी परेका केही पदमा उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिने समयअघि नै दाबी फिर्ता लिएपछि सबै पद निर्विरोध घोषणा गरिएको हो।
संघको वरिष्ठ उपाध्यक्षमा जीवकान्त काफ्ले, प्रथम उपाध्यक्षमा हरिबहादुर खत्री, द्वितीय उपाध्यक्षमा युवराज आचार्य, महासचिवमा सुमन बस्याल, कोषाध्यक्षमा विशाल बेलवासे, सचिवमा अशोक कुँवर र सह–कोषाध्यक्षमा राजु घिमिरे निर्वाचित भएका छन्। पदाधिकारीतर्फको सचिव (महिला) पद भने खाली छ। सो पदका लागि शारदा रेग्मी (भट्टराई)ले उम्मेदवारी दिएका थिए, तर शुक्रबार उनले उम्मेदवारी फिर्ता लिएपछि पद खाली भएको हो।
त्यस्तै, सदस्यतर्फ आजीवन सदस्यमा इन्जिनियर किरण खरेल, एसोसिएट सदस्यमा अखिलेश गुप्ता कसौधन, संस्थागत सदस्यमा तेजप्रसाद पराजुली निर्वाचित भएका छन्। खुला सदस्यतर्फ ६ जनामा रमेशप्रसाद आचार्य, लालप्रसाद बस्याल, काशीनाथ खनाल, मेघबहादुर घिमिरे, अनिशकुमार कसौधन र थानेश्वर पाण्डे निर्वाचित भएका छन्।
दुई महिला सदस्यमा पार्वती गिरी र दिलु शाही निर्वाचित भएका छन्। सदस्य (बुटवल औद्योगिक क्षेत्र)मा प्रज्ज्वल थान्जु, बुटवल उपमहानगरपालिकातर्फ नारायणप्रसाद खनाल र डिल्लीनारायण पाण्डे, तिलोत्तमा र ओमसतिया तर्फ घनश्याम पौडेल शर्मा र शतिश सापकोटा, देवदह नगरपालिका र रोहिणी गाउँपालिकाबाट चक्रपाणी तिवारी, सैनामैना नगरपालिका, कञ्चन र गैडहवा गाउँपालिकाबाट कृष्णप्रसाद पोखरेल तथा शुद्धोधन र सियारी गाउँपालिकाबाट टंकनारायण आचार्य निर्वाचित भएका छन्।
सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिकाबाट एक–एक जना, लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई, समरीमाई र मर्चवारी गाउँपालिकाबाट पनि एक–एक जना सदस्य निर्वाचित हुने भए पनि कसैले उम्मेदवारी नदिएकाले ती पद खाली रहेको निर्वाचन समितिले जनाएको छ।
संघको ३३ सदस्यीय कार्यसमितिमा ३१ जना अधिवेशनबाट निर्वाचित हुने र बाँकी दुई जना अध्यक्षले मनोनीत गर्ने प्रावधान छ। खाली रहेका पदहरू समितिको पहिलो बैठकमार्फत मनोनीत गरिने तयारी गरिएको छ।
शनिबार आयोजित संघको ४७औं साधारण सभामा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, प्रदेश अध्यक्ष एजाज आलम, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय, नेपाल चेम्बर अफ कमर्सका प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीलगायतले सम्बोधन गरेका थिए। रुपन्देही उद्योग संघका तत्कालीन अध्यक्ष दिलिप सापकोटाका अनुसार शनिबार राति नै नयाँ निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम आयोजना गरिएको छ।