एमाले नेता झपट रावलद्वारा प्रतिनिधि छनोटका दुई वैकल्पिक मोडेल प्रस्ताव
काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि र नेतृत्व छनोट प्रणालीमा सुधार ल्याउने उद्देश्यले दुई वैकल्पिक मोडेल प्रस्ताव गरेका छन्। उनका अनुसार यी मोडेलहरूले पार्टीभित्र सङ्गठनात्मक लोकतन्त्र, पारदर्शिता र सदस्य सहभागिता सुदृढ पार्नेछन्। शनिबार सार्वजनिक गरिएको प्रस्तावमा भूगोलमा आधारित प्रतिनिधित्व मोडेल र प्रत्यक्ष सदस्य सहभागिता मोडेल समावेश छन्।
पहिलो मोडेल अनुसार देशका सबै ७५३ स्थानीय तहलाई प्रतिनिधि छनोटको आधार बनाइने र प्रत्येक स्थानीय तहबाट कम्तीमा एकजना प्रतिनिधि अनिवार्य रूपमा चयन गरिने व्यवस्था हुनेछ। साथै, महिला, युवा, दलित, जनजाति र पिछडिएका वर्गको अनिवार्य समावेश गरिने प्रस्ताव गरिएको छ। रावलका अनुसार यस मोडेलले भौगोलिक सन्तुलन कायम गर्दै स्थानीय कार्यकर्ताको मनोबल र जनसङ्गठनसँगको सम्बन्ध मजबुत बनाउनेछ।
दोस्रो मोडेल अन्तर्गत पार्टीका सम्पूर्ण सदस्यलाई प्रत्यक्ष रूपमा नेतृत्व चयन प्रक्रियामा सहभागी गराइनेछ। प्रत्येक पालिकामा डिजिटल वा प्रत्यक्ष मतदानको व्यवस्था गरिने र सदस्यताको प्रमाणीकरण प्रणालीमार्फत पारदर्शिता र विश्वास सुनिश्चित गरिने प्रस्ताव गरिएको छ। रावलले यो प्रणालीले नेतृत्व छनोटमा वैधता, पारदर्शिता र सदस्यको भरोसा बढाउने बताए।
उनका अनुसार यी दुवै मोडेलको उद्देश्य एउटै हो— पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई गहिरो बनाउने, समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने र एमालेलाई अझ जनमुखी तथा वैचारिक रूपमा सबल बनाउने। उनले भने, “कुन मोडेल अवलम्बन गर्ने भन्ने निर्णय पार्टीको नीति, प्राविधिक तयारी र आन्तरिक सहमतिका आधारमा हुनुपर्छ, दुवै दृष्टिकोणले एमालेलाई संस्थागत र जनताको नजिक पुर्याउने क्षमता राख्छन्।”