जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय’ भनी आलोचना
२० कात्तिक, काठमाडौं । जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रोश पोखेका छन् । गुरुङले सामाजिक मार्फत धारणा राख्दै गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय’ को भनेका छन् ।
जेनजी आन्दोलनको क्रममा दमन गर्नेहरूलाई कारबाही नगरिएको भन्दै गुरुङले रुष्ट बनेका हुन् । ‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन । देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही’ गर भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही’ गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो,’ गृहमन्त्री अर्याललाई उनले भने, ‘शहीदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् ।’
गुरुङले गृहमन्त्री अर्यालसँग आशा मरिसकेको उल्लेख गरेका छन् ।
जेनजीको आन्दोलन २०८४ को चुनाव २०८२ सार्नका लागि नभएको उल्लेख गर्दै गुरुङले गृहमन्त्री अर्यालले चुनाव गरेर मात्रै दायित्व पूरा नहुने बताएका छन् । गुरुङले चेतावनी शैलीमा भनेका छन्, ‘चुनावको नाटक नचलोस् । ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो । नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन ।’
प्रधानमन्त्री सुशीला कार्कीको प्रिय पात्र बनेर गृहमन्त्री पदमा बस्न नपाउने गुरुङले चेतावनी दिएका छन् ।
‘अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ । प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो,’ गुरुङले भने ।